कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

26 January, 2021 13:05 | कर्णाली प्रदेश , प्रदेश | comments | 70950 Views

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि) देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने बताउनुभयो । उहाँका अनुसार आठवटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाइनेछ ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने जनाएको छ ।

  

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा हालसम्म ९६ हजार ९३६ जनाको पिसीआर परीक्षण भएको छ । तीमध्ये सात हजार ४९५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै २९ जनाको मृत्यु भइसकेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More