कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि

28 April, 2021 17:40 | जल/वातावरण/स्वास्थ्य | comments | 75000 Views

भारतसंग सीमा जोडिएको बाँकेमा कोरोना संक्रमणले महामारीको रुप लिइरहेको छ । त्यहाँका अस्पतालहरु संक्रमितले भरिएका छन् भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन् ।

त्यहाँको स्थिति यति नाजुक छ कि भेरी अस्पतालमा मात्रै गरिएको परीक्षणमा संक्रमितको दर ८१ प्रतिशतभन्दा बढी छ । पछिल्लो ३६ घण्टामा २ सय ८८ जनाको नमुना परीक्षण गर्दा २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  

परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो ।

संक्रमण पुष्टिमा हुनेमा २०८ जना बाँकेका छन् भने १३ जना बर्दिया, २, २ जना कैलाली र दाङ तथा ८ जना अन्य जिल्लाका छन् ।

लगभग यस्तै अवस्था सुदूरपश्चिको पनि छ । भारतबाट नेपाल फर्कनेहरु सबैको कोरोना परीक्षण नगरिने हुँदा धेरैलाई सीमाबाट सिधै घर पुर्याउने गरिएको छ । यसले पनि मध्य र सुदूरपश्चिमका सीमावर्ती क्षेत्र र पहाडी क्षेत्रमा समुदायस्तरमै कोरोना फैलिइसकेको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष संक्रमणले भयाव रुप लिने देखिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण छिटो हुने र मृत्युदर पनि बढी भएकाले सरकारले पर्याप्त चासो नदिएर लकडाउन वा निषेधाज्ञामै अल्झिरहेको छ । एक वर्षअघि कोरोना भाइरसको पहिलो लहरले देशलाई जकडेको बेलाको सिकाईलाई बेवास्ता गर्दा दोस्रो लहर झन् भयावह हुने स्थितितिर उन्मुख छ ।

अहिले सबभन्दा ठूलो चुनौति भनेको त्यतिबेला सीमा नाकाबाट प्रवेश गर्ने अधिकांशको यथोचित अभिलेखीकरण र परीक्षण नगरेकै कारण भाइरस समाजमा फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हो ।

विभिन्न सीमा नाकाहरुबाट औपचारिक रुपमा नै दैनिक हजारौंको संख्यामा मानिसहरु नेपाल प्रवेश गरी आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । केही नाकाहरुमा एन्टिजेन परीक्षण नभएको भने होइन । त्यसरी एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुको व्यवस्थापन कुनरुपमा भइरहेको छ भन्ने यकिन विवरण मन्त्रालयसँगै छैन ।

लापरवाहीको हद

सरकारले न सीमा नाकामा कडाई गरेको छ, न हवाई हड्डामा । बल्ल आजदेखि नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जानेहरुलाई रोक लगाएको छ । तर अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गरिएको छैन । अनि स्वास्थ्य सुरक्षा पालनामा पनि कुनै कडाइ छैन ।

हवाईमार्गबाट नेपाल आएकामध्ये अधिकांशजसो होम आइसोलेसनमा बस्ने गरी घर गएका छन् । विदेशबाट नेपाल आएका यात्रुहरु सबैले अनिवार्य रुपमा पीसीआर रिपोर्ट बोक्ने गरेको भए पनि त्यसको आधिकारिकताबारे कुनै अनुसन्धान भएको छैन ।

विदेशबाट निगेटिभ पीसीआर रिपोर्ट ल्याएकै भरमा उनीहरु संक्रमित छैनन् भन्ने सोचेर व्यवहार भैरहेको छ, जुन अति नै गम्भीर छ । किनभने नेपालमा कोरोना स्थल र हवाई मार्गबाट प्रवेश गरेको पोहोर फैलिएको पहिलो लहरको तथ्यांकले नै पुष्टि गरिसकेको छ । यसपटक पनि भारतमा ग्राफ उकालो लागेसँगै नेपालमा पनि ग्राफ उकालो लागिरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More