तीन लाखमा मिर्गौला !
प्रत्यारोपण समितिकै मिलेमतोमा नक्कली आफन्त बनाएर मिर्गौला फेरियो
काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे , कहिले गलैंचा कारखाना त कहिले गाडीमा खलासी बस्थे ।
गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर (अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ) लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रहेछ । तिम्रो जाँच गरौं । दुइटा भए एउटा दिँदा फरक पर्दैन । तिमीले तीन लाख रुपैयाँ पाउँछौ ।’

राजुले शंखरलाल लामाका लागि मिर्गौला खोजिदिएका हुन् । बाबुका लागि मिर्गौला खोज्न लामाका छोरा शिशिरसागर दौडधुप गरिरहेका थिए । राजुले त्यही दिन मगरलाई शिशिरसँग भेटाइदिए । शिशिरले पनि उसैगरी फकाए,‘मेरो बुबालाई मिर्गौला चाहिएको छ, तपाईंलाई एउटा मिर्गौला भए पनि केही फरक पर्दैन । धेरै मानिसले मिर्गौला झिकेका छन् ।’ जिल्ला अदालत ललितपुरमा पेस भएको आरोपपत्रअनुसार उनले मगरलाई ‘मिर्गौला प्रत्यारोपणपछि नगदै ३ लाख रुपैयाँ दिउँला’ भनी आश्वासन दिएका थिए । त्यसपछिका ३/४ वटा भेटमा शिशिरले मगरलाई हरेकपल्ट ४/५ हजार रुपैयाँ दिएर आश्वस्त पारे ।
मिर्गौला पाउने निश्चित भएपछि वनस्थलीस्थित डायलसिस सेन्टरमा डायलसिस गराइरहेका लामालाई पुल्चोकको निदान अस्पताल लगियो । त्यहाँ उनले आफ्ना भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको बताए । अस्पतालका प्रशासन प्रमुख विपेन्द्र प्रधान र कानुनी सल्लाहकार कुमुदकुमार भट्टराईले आवश्यक कागजात तयार गर्न सल्लाह दिए ।
जिल्ला अदालतमा दर्ता भएको मिसिलअनुसार लामा र शिशिरले गाउँबाट भान्जाको नाता प्रमाणितको सिफारिसपत्र लिएर आए । अस्पताल आइसकेपछि भने उनै मगरलाई भान्जा बनाएर उभ्याए ।
लामाले बयानमा विवरण तोडमोड गरेका छन् । अस्पताल पुर्याइएका भान्जा डराएर मिर्गौला प्रत्यारोपणका लागि तयार नभएपछि मगरलाई ल्याउनुपरेको उनको भनाइ छ । ‘जसो गर्दा पनि नभएपछि निदान अस्पतालका कर्मचारीको सल्लाहबमोजिम आइते मगरसँग मेरो छोराले कुरा गरी मिर्गौला दिन तयार बनाएका हुन्,’ लामाको बयान छ । प्रहरीले भने सुरुदेखि नै मगरलाई अघि सारिएको निष्कर्ष निकालेको छ ।
योजनाअनुसार डाक्टरहरूले नक्कली भान्जाको स्वास्थ्य परीक्षण गरी उनको मिर्गौला लामालाई प्रत्यारोपण गर्न सकिने राय दिए । प्रशासन प्रमुख प्रधान र कानुनी सल्लाहकार भट्टराईले घटनाबारे थाहा पाएपछि कागजात मिलाउने ‘आइडिया’ बताइदिए । त्यसबापत भट्टराईले लामा परिवारबाट साढे ४ लाख रुपैयाँ अतिरिक्त लिएको मिसिलमा उल्लेख छ । भट्टराईले भने एउटाको नामबाट अर्कोको मिर्गौला दिन सकिन्छ भनेर सल्लाह नदिएको दाबी गरे ।
जबकि प्रहरीले कल डिटेल रेकर्ड हेर्दा भट्टराई र शिशिरबीच नियमित फोन सम्पर्क भएको खुल्यो । मिसिलमा भट्टराईले भान्जाको नामबाट अर्को मानिसको मिर्गौला प्रत्यारोपण गराउन सकिने तर त्यसका लागि अस्पतालको शुल्कबाहेक ५ लाख बढी पर्ने बताएको उल्लेख छ । शिशिरले प्रत्यारोपणअघि डेढ लाख र पछि तीन लाख गरी ४ लाख ५० हजार रुपैयाँ भट्टराईकै हातमा थमाइदिएको दाबी गरेका छन् । प्रमाण खोज्दै जाँदा प्रहरीले नबिल बैंकको स्वयम्भू शाखामा रहेको खाताबाट दुई चरणमा उक्त रकम निकालिएको भेट्टायो ।
साउन अन्तिमतिर मगरलाई निदान अस्पताल भर्ना गरियो । लगातार दुर्व्यसनका कारण कमजोर बनेका उनलाई उपचार गरेर सामान्य अवस्थामा ल्याइयो । मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन साउन २३ गते फर्ममा टाँसिएको फोटो उनको अनुहारसँग नमिलेपछि नर्सहरूबीच हल्लीखल्ली भयो । उनीहरूले मगरलाई अर्को भवनमा लिएर गए । नर्सहरूले मिर्गौला दिने व्यक्ति घिसिङ नभएको भन्दै प्रशासन प्रमुख प्रधानलाई खबर गरे । उनले तत्काल कानुनी सल्लाहकार भट्टराईलाई बोलाए ।
केही बेरपछि अस्पताल आएका उनले ती व्यक्ति लामाका भान्जा नै रहेको, अहिले दुब्लाएकाले फोटोसँग हुलिया नमिलेको जवाफ दिए । अलि बढी केरकार भएपछि मानव संसाधन विभाग प्रमुखले उनीहरूलाई नयाँ फोटो लिएर आउन निर्देशन दिए । मगरको नयाँ फोटो ल्याएर फर्ममा टाँसियो ।
उक्त फोटोसमेत सफ्टवेयरबाट परिवर्तन गरिएको पाइएको छ । प्रहरीले स्वयम्भूमा फोटो स्टुडियो सञ्चालन गरेर बसेका काजीमान रेग्मीलाई बोलाएर केरकार गर्यो । उनले आफूले नै फोटोसपबाट घिसिङको फोटोमा मगरको अनुहार मिलाएको बताए । ‘असार तेस्रो साता आएर उनीहरूले फोटो खिचेर लगेका थिए, दुई दिनपछि शिशिर आएर नयाँ फोटो चाहियो भने,’ रेग्मीको बयान छ, ‘सञ्जीवको फोटोमा दुई दिनअघि खिचेको फोटोको टाउको राखी अनुहार र कपाल उस्तै हुने गरी बनाइदिनू भनेका थिए ।’ काजीमानका अनुसार उनीहरूले ‘केटाको बिहे हुन लागेको, अलि बूढोजस्तो देखिएकाले केटीलाई देखाउन फोटो खिचेर मिलाउनुपरेको’ बताएका थिए । नयाँ फोटोमा पनि मगरको अनुहार र कपाल नमिलेपछि फेरि हल्लीखल्ली भयो । कानुनी सल्लाहकार भट्टराईले फेरि पनि ‘मान्छे दुब्लाएर यस्तो भएको’ भनी जवाफ दिए ।
एक नर्सले अस्पतालमा मिर्गौला साट्ने फर्जी खेल भएको बताएकी छन् । ‘मचाहिँ अर्को दिनको अपरेसनमा सामेल भइनँ, किनकि अघिल्लो दिनको घटनाले मेरो मन खिन्न भएको थियो,’ उनको बयान छ । अस्पतालमै कार्यरत चिकित्सक कल्पनाकुमार श्रेष्ठका अनुसार हल्लीखल्ली भएपछि भट्टराई र प्रधान आएर अर्को फोटो टाँसेका हुन् ।
प्रत्यारोपण समितिले सबैतिर थामथुम गरेपछि भोलिपल्ट साउन २४ गते निदान अस्पतालमा मगरको मिर्गौला लामालाई प्रत्यारोपण गरियो । लामाले केही समय मगरलाई आफ्नै घरमा आराम गराए । लामाकी बुहारी विन्दाले आफ्नो खाताबाट मगरको खातामा तीन लाख रुपैयाँ पठाएको आरोपपत्रमा उल्लेख छ । त्यसपछि शिशिरले मगरलाई ‘फोन अफ गरेर बस्न, बाहिर निस्केर यसबारे केही नबोल्न’ सचेत गराउँदै तलमाथि भए प्रहरीले पक्रने त्रास देखाए ।
अस्पतालबाट चुहिएको सूचना प्रहरीसम्म पुग्यो । पीडितकै किटानी जाहेरीका आधारमा अनुसन्धान थालेको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले ९ जनामाथि जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ । कानुनअनुसार मिर्गौला प्रत्यारोपण गर्नुपरे तोकिएका नातेदारबाट मात्र लिन पाइन्छ । त्यसका लागि स्थानीय तहबाट नाता प्रमाणित, अस्पतालको प्रत्यारोपण समितिको निर्णय, दुवै पक्षको मञ्जुरी हुनुपर्ने र अर्को व्यक्तिले त्यसको सनाखत गरिदिनुपर्ने व्यवस्था छ ।
प्रहरीले प्रतिवादी बनाएकामध्ये मिर्गौला प्रत्यारोपण समितिका चार सदस्य अस्पतालका प्रशासन प्रमुख प्रधान, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र आले अनि कानुनी सल्लाहकार भट्टराई छन् । उनीहरूमाथि बदनियतसाथ फोटो फेरेर नाता नपर्ने व्यक्तिको मिर्गौला प्रत्यारोपण गराएको आरोप छ ।
लामा र शिशिरमाथि प्रलोभनमा पारी मिर्गौला किनेको आरोप लगाइएको छ । भान्जा घिसिङमाथि मिर्गौला दिने भनी सक्कल कागजात उपलब्ध गराएको, उनकी दिदी रेणुमाथि झूटो विवरण दिई गलत व्यक्तिको साक्षी बसेको, विन्दामाथि मिर्गौला किनेको पैसा उपलब्ध गराएको आरोप छ । उनीहरूमाथि १० वर्ष कैद र क्षतिपूर्तिको मागदाबी गरिएको छ । प्रहरीले बिचौलियाको भूमिकामा रहेका राजुका बारेमा भने थप विवरण पत्ता लगाउन सकेको छैन ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
नक्कली छोरा बनाएर मिर्गौला तस्करी
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


