भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित

28 April, 2021 12:20 | जल/वातावरण/स्वास्थ्य | comments | 83550 Views

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । एक चिकित्सक गम्भीर अवस्थामा रहेकाले अस्पतालमा उपचारमा छन् ।

ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन् ।

  

गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् ।

अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पताल थप भर्ना लिन सक्ने अवस्थामा छैन ।

यसैबीच स्वास्थ्य मन्त्रालयबाट आएको विज्ञ टोलीले गरेको सिफारिस सरकारले कार्यान्वयन गरेपछि भेरी अस्पताल प्रशासनलाई केही राहत मिलेको छ । स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोशन न्यौपानेसहितको टोलीलाई भेरी अस्पतालको अवस्था बुझ्न नेपालगन्ज पठाएको थियो ।

अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । संक्रमितको अत्यधिक चापका कारण अस्पताल अस्तव्यस्त बनेको छ।

अस्पताल प्रमुख डा प्रकाश थापाले महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न नछाडेको बताउँदै सामग्रीको अभाव नभए पनि जनशक्ति अभाव भएको बताउनुभयो । हाल अस्पतालमा हाल करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More