वाग्मती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

22 January, 2021 15:15 | प्रदेश , बागमती प्रदेश | comments | 117000 Views

वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक शुक्रबार दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ ।

  

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले बिहिबार बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गर्नुभएको सचिवालयका सचिव खड्काले जानकारी दिनुभएको छ ।

प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गर्नुभएको थियो ।

यसअघि वागमती प्रदेशसभा कार्य परामर्श समितिको बिहिबार नै बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा तुरुन्तै टेबुल गर्ने भन्ने विषयको छलफल निश्कर्षविहीन बन्न पुगेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बुद्धिमान माझी र नेपाली कांग्रेसका सदस्य छिरिङ दोर्जे लामा, पुकार महर्जन, साझा विवेकशीलका शोभा शाक्य तथा राप्रपाका रीता माझीले मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविस्वासको प्रस्तावलाई शुक्रबार ९ः०० बिहानदेखि ११ः०० बजेसम्ममा प्रदेशसभाको बैठकमा छलफलका लागि प्रस्ताव टेबुल गर्नुपर्ने माग गर्नुभएको थियो ।

उहाँहरुले उक्त प्रस्तावमाथि शुक्रबार नै बैठक सञ्चालन गरी प्रस्तावलाई सामान्य छलफलमा ल्याउने र अन्य प्रक्रिया पूरा गर्नका लागि एक हप्ताको समय सार्नसमेत सभामुख श्रेष्ठलाई आग्रह गरिएको उल्लेख गर्नुभयो । प्रदेशसभाको बैठक शुक्रबार सञ्चालनका लागि आज अपराह्न ४ः०० बजेको समयभित्र सूचना सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भए पनि सचिवालयले कुनै प्रकारको सूचना सार्वजनिक नगरिएको र बैठक बस्ने सम्भावना न्यून रहेको राप्रपाका प्रदेशसभा सदस्य माझीले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More