दशैं दशैं

  • दशैं
  • दशैं
  • दशैं
  • दशैं
  • दशैं

विशेष सम्पादकीय : “मानवभित्र रहेको दानवी प्रवृत्तिको नास होस्”

19 October, 2018 16:12 | सम्पादकीय | comments | 128250 Views

नेपालीहरूको महान चाड बडादशैं यतिबेला हरेक नेपालीको घरघरमा भित्रिएको छ । घरघरमा देवी दुर्गा भवानीको प्रसाद ग्रहण गर्दै हर्ष, उल्लास र उमंगका साथ मनाइरहेका छन् ।

दशैं खानपानको मात्र पर्व नभएर यसको तात्विक विशेषता अनेक छन् । प्रकृतिदेखि नरनारीसम्म सहिष्णुता प्रदान गर्ने यो पर्व आराध्यदेवी भगवति दुर्गा मातालाई सर्व शत्रु विनाशिनी शक्तिरूपा मानेर नवरात्रीसम्म पूजाआराधना गरी उनैको प्रसादका रुपमा विजया दशमीका दिन प्रसाद ग्रहण गरिन्छ । आसुरी प्रवृत्तिमाथि विजयको प्रतिकका रूपमा विजया दशमीको विशेष स्थान छ । बडा दशैंलाई पारिवारिक भेटघाट र मेलमिलापको अवसरका रुपमा पनि लिइन्छ ।

  

नेपाली संस्कार र हिन्दु परम्पराले अहिले विश्वव्यापी रुप लिएको छ । नेपालीहरू विश्वका जुन जुन कुनामा पुगेका भए पनि बडादशैंको अवसरले संस्कृतिप्रेमी हरेक नेपालीलाई उमंगित र उल्लासित बनाउने गरेको देखिन्छ । नेपाल बहुसांस्कृतिक मुलुक भए पनि बडादशैंलाई राष्ट्रिय चाडपर्व र राष्ट्रिय संस्कृतिको द्योतकका रुपमा सवै नेपालीले वरण गर्दैआएका छन् । आपसी सद्भाव, मेलमिलाप र सद्विचार प्रवाहको राष्ट्रिय संस्कृति निर्माणमा बडादशैंको विशेष महत्व भएकाले नेपाली समाजले यो अवसरलाई गौरवमय अवसरका रूपमा आत्मसात गर्दैआएको छ ।

बडादशैंको यो अवसरले आफ्नो धर्म–संस्कृति र परम्पराप्रति गौरव गर्ने समस्त नेपालीलाई आफ्नो मौलिक संस्कृतिको रक्षाका निम्ति सचेत र सजग हुनुपर्ने संवेदनशील अवस्था सिर्जित हुँदैगएको स्थितिबोध गराएको छ । नेपालको भूगोल, इतिहास, राजनीति, अर्थव्यवस्थादेखि लिएर सामाजिक, धार्मिक, भाषिक ,सांस्कृतिक हरेक क्षेत्र अतिक्रमण, अपव्याख्या, विचलन, अवनति र विध्वंशात्मक प्रहारको सुनियोजित अभियानको चपेटामा पर्दैगएको छ ।

हाम्रा आफ्ना मौलिक पहिचानहरूमाथि अनेक कुनाबाट प्रहार गर्ने र यो देशको सार्वभौमिकता, अखण्डता र एकतामाथि धावा बोल्ने धृष्टतापूर्ण गतिविधिका दुष्परिणामहरू जताततै देखापरिरहेका छन् । विधर्मीहरूले नानाथरी भ्रमात्मक प्रचार गरेर नेपालको मौलिक संस्कृति नष्ट गर्ने जुन षडयन्त्र गरिरहेका छन् त्यसले तीब्र गति लिइरहेकाले धर्मपरिवर्तन र रूपान्तरणको वेग तीब्रतर बन्दैगएको छ ।

९० प्रतिशत नेपाली जनताको अभिमतविरुद्ध लादिएको धर्मनिरपेक्षता यथार्थमा हाम्रो मौलिक संस्कृति र पहिचानलाई समाप्त गर्ने र यो देशको स्वतन्त्र पहिचानलाई नै समाप्त गर्ने दुर्भावनापूर्ण दिशातिर लक्षित छ । बडादशैं जस्तो राष्ट्रिय चाडपर्वको विरोध र बहिष्कारको बीजारोपण गर्ने विधर्मीहरूको दुस्प्रयासको प्रभाव भलै नेपाली समाजमा न्यून नै रहे पनि राजनीतिक विचलनका दुष्परिणामहरूले सांस्कृतिक विचलनलाई मलजल गरिरहेको कुरालाई नकार्न सकिने अवस्था छैन ।

सांस्कृतिक विचलनलाई प्रोत्साहन दिने कुनै पनि प्रकारका गतिविधिले मुलुकलाई अस्तित्वविहीन अवस्थातिर धकेल्ने कुत्सित धेय राखेको तथ्यलाई सवै नेपालीले समयमा नै बुझेर राष्ट्रको मौलिक पहिचान र अस्मिताको रक्षाका लागि आफूलाई समर्पित गर्नुपर्ने दिन आइसकेको छ । बडादशैंको यो अवसरले सवै नेपाली जनमा यो सन्देश प्रवाहित गरोस् भन्ने हाम्रो कामना छ ।

हाम्रो संस्कृति हाम्रो पहिचान हो । हामीले हाम्रो संस्कृतिको रक्षा गर्नसक्यौं भने मात्र हाम्रो पहिचान कायम रहिरहन सक्छ र हाम्रो देशको अस्तित्व संरक्षित हुनसक्छ । बडादशैंलगायतका हाम्रा राष्ट्रिय चाडपर्वहरूले हामीलाई आपसी सद्भाव र मेलमिलाप, सिर्जनात्मक सोच र सांस्कृतिक सचेततातिर अभिप्रेरित गरिरहेका छन् । तर अहिले हाम्रो राष्ट्रिय चिन्तनधार धमिलिँदैगएकाले सांस्कृतिक विचलनका अनेक रूपहरू नेपाली समाजमा देखापरिरहेका छन् । तिनको सामना गर्ने क्षमताको विकास हुनसकेन भने यसको मूल्य हरेक नेपालीले चुकाउनुपर्ने हुन्छ ।

यस्तो अवस्थाको अन्त्यका लागि हामी वैदिक संस्कृतिका अनुयायी चाहे हिन्दु हुन् वा बौद्ध, ओमकार परिवारका सम्पूर्णजनहरुमा अरुले थोपरिदिएको नारा घन्काउने हैन कि आफ्नो मौलिकता चिन्ने शक्तिको विकास होस् । दानवी प्रवृत्तिको अन्त्य भएर दैवी प्रवृत्तिको विकास होस् ।

बडादशैंको यो पुनित अवसरमा हामी सवै नेपालीमा सांस्कृतिक जागरणको लहर उठोस् भन्ने अपेक्षाका साथ देश विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना अर्पण गर्न चाहन्छौं ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दशैं

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More