मोहम्मद बिन हमामले दिए गणेश थापाका छोरालाई एक लाख डलर

21 July, 2012 07:55 | खेल | comments | 83550 Views

विश्व फुटबलको सर्वोच्च निकाय फिपाको अध्यक्ष बन्ने तयारीमा रहेका तत्कालीन एसियाली फुटबल महासंघका अहअध्यक्ष मोहम्मद बिन हमामले एक लाख अमेरिकी डलर एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको व्यक्तिगत बैँक खातामा जम्मा गरेको खुलासा अमेरिकी समाचार एजेन्सी एपीले गरेको छ। 

 

  

हमामलाई भ्रष्टाचारको अभियोगमा फिफाले आजीवन प्रतिबन्ध लगाए पनि भर्खरै प्रमाणको अभाव देखाउँदै कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टसले निर्णय उल्ट्याएको थियो।

 

विश्व फुटबलको सर्वोच्च संस्था फिफाको नेतामा चुनिन वर्तमान अध्यक्ष सेप ब्लाटरसँग प्रतिस्पर्धा गर्न लाग्दा लामो समय एसियाली फुटबलको नेतृत्व गरेका ६३ वर्षीय यी कतारी नागरिकलाई भोट किन्न रकम खर्चेको आरोप लागेको थियो। उनले आफ्नो निजी कामका लागि एसियाली फुटबल महासंघ ९एएफसी० को ब्याङ्क खाता प्रयोग गरेको आरोप छ।

 

एपीले एएफसीको अन्तर्राष्ट्रिय अकाउन्टिङ फर्म प्राइसवाटरहाउसकूपर्सले तयार पारेको लेखा परीक्षण प्रतिवेदन हात पारेको भन्दै गणेश थापाका छोरालाई समेत १ लाख डलर बाँडेको त्यसमा देखिएको खुलासा गरेको हो।

 

गणेश थापाले खुला रुपमा हमामको समर्थन गर्दै आएका थिए। उनी हमामका एकदमै निकट सहयोगी मध्ये एक मानिन्छन्। उनका छोरा गौरव थापा एएफसीको कम्पिटिसन डिभिजनमा हेड अफ युथ कम्पिटिसन्स छन्। हाल लन्डनमा रहेका गौरवले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

 

हिजो ट्विट गर्दै उनले आफू लन्डनमा रहेको बताएका हुन्। १४ जुलाईमा गरिएको अर्को ट्विटमा उनले आफू १६ अगस्तसम्म लन्डनमै रहने बताएका छन्। १९ जुलाईमा उनले आफूलाई १ लाख डलर दिने हमाम भ्रष्टाचार आरोपमुक्त भएको बीबीसीको समाचार रिट्विट गरेका छन् ।

 

यो अडिट रिपोर्टले एसियाली फुटबललाई हमामले पारिवारिक व्यापार जसरी चलाइरहेको देखिएको छ, एपीले आफ्नो समाचारमा भनेको छ।

 

रिपोर्ट अनुसार दक्षिण एसियामा सबैभन्दा बढी रकम पाउने एन्फा अध्यक्षका छोरा नै हुन्। दक्षिण एसियाको अर्को देश बंगलादेश फुटबल फेडेरसनका प्रवक्ताको ट्युसन खर्चका रुपमा २५ हजार डलर गएको छ। २० हजार डलर चाहिँ त्यसका महासचिवको क्यान्सर उपचारका लागि दिइएको छ।

 

फिलिपिनो फुटबल अधिकारी जोसे मारी मार्टिनेजले ६० हजार डलर पाएका छन् भने २० हजार डलर अस्पताल खर्चका रुपमा भुक्तान भएको छ। अर्को ५० हजार डलर पूर्वी टिमोरका फुटबल अधिकारीलाई दिइएको अडिट रिपोर्टले देखाएको छ।

 

ब्लाटरलाई १४ वटा सर्ट किन्न २ हजार अमेरिकी डलर खर्च भएको छ भने क्यारेबियन फुटबल महासंघका प्रमुखलाई सुटहरु किन्न ५ हजार डलर गएको छ।

 

कोर्ट अफ आर्बेटरी अफ स्पोर्टसले प्रतिबन्ध जायज नभएको निर्णय गरे पनि एसियाली फुटबल महासंघको अनुशासन कमिटीले अलग्गै गरिरहेको अनुसन्धान पूरा नहुन्जेल निलम्बन जारी रहने फिफाले बताएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More