मैले भुल्न चाहेको वैशाख १२, भुल्नै नसकेका घटना र पात्रहरु

25 April, 2021 15:44 | बिचार | comments | 103350 Views

यादब देवकोटा

२०७२ वैशाख १२ गते नेपालको इतिहासमा थपिएको अर्को एउटा कालो दिन । शनिबार, सबैजना घरमै, खाना खाने समय अलिक ढिलै तर आआफ्नै काम र कोठामा व्यस्त । म मेरोकान्छी छोरी (बिनिता)को चीन अध्ययनका लागि छात्रवृत्ति फारम भरेर आफ्नो काममा लागेको थिएँ । ११ः५६ को समय, जब विस्तारै घर हल्लिन थाल्यो, सामान्य ठानियो, हल्लाई बढ्दै गयो, डर थपियो, घरका सबैलाई बाहिर निकाल्ने कोसिस गर्दागर्दै आफू घरभित्रै हुँदा गारो ढल्यो, धन्न बचियो भन्दै एकै फड्कामा आँगनमा पुगे तर बर्लङ्गै घोप्टो परियो, पुनः उठे फेरि पछारिए, फेरि उठेर एक पाइला मात्र के सारेको थिए– अगाडिको गारो गर्लम्मै । धन्न बचियो !

  

आफ्नो घर भत्कियो, सबैलाई जम्मा पारेर बारीमा पुग्दा पनि हल्लाउन छोडेको थिएन । त्यो कम्पन नै थियो कि अघिल्लै हल्लाइको ह्याङ् हो ? वारी–पारी सबैतिर धुलाम्मे ! दिमागले सोच्यो अब सकिएछ, केही बाँकी नरहने भयो ! अत्यास, चिन्ता सबथोक बढ्दै जाँदा सुनिएको कोलाहाल अनि घरका सदस्यको खोजी गर्दा नभेटिएको अवस्थाले अरुलाई जे भयो मलाई पनि त्यही भैरहेको थियो ।

भूकम्प गएकै दिउँसो भानिज दाई सुन्दर खड्का आउनुभयो । उहाँले भत्किएको घर देखेपछि हाम्रो घरमा जाउँ, घर खाली नै छ मिठो मसिनो जे हुन्छ बाँडेर खाउँला भन्नुभयो । दुःखको बेलामा त्यति सहृदयी सहयोगी भनाईले नयाँ उर्जा दियो । उहाँ सदा अरुलाई सहायता गर्न तत्पर हुने स्वाभाव भएको एउटा अशल मानिस ।

दिन ढल्दै गयो, साँझ पर्दैगएपछि बासको व्यवस्था गर्न लाग्यौं । छरछिमेकका सबै मिलेर स्व. मुरारी अर्यालको बारीमा बाल टाँगियो, सबै मिलेर पकाउने, खाने र लस्करै सुत्ने गर्दा भत्किएको घरको सुरक्षा पनि अर्को महत्वपूर्ण पाटो थियो । हामी केही साथीहरु कमै मात्र सुत्ने र यसो उताउता डुल्ने गरिरह्यौं । पराकम्पन आउँदा खुला ठाउँमा भए पनि भाग्ने बानी परेछ । पालमुनी बस्दा पनि पराकम्पनमा भाग्ने गरी मानसिकता यति कमजोर भएछ कि बयान गरिसाध्य थिएन ।

यस्तै अवस्थामा फाइदा उठाउनेहरु पनि कम्ति हुँदा रहेनछन् । पारीमा चोर आयो भनेर कराउने, वारीबाट केटाहरु दगुरेर जाने, अनि अर्कोतिरबाट भत्किएका घरभित्र पसेर चोरी गर्ने घटना पनि सुनिए, त्रिपालमा लुटपाट भएका घटना पनि सुनिए । हामी बसेको ठाउँ भने सुरक्षित रह्यो, मात्र पानी परेर दुःख पाउनु बाहेक ।

जसोतसो दिन बितिरह्यो, बिस्तारै मोबाइल फोन र इन्टरनेटले काम गर्न थाल्यो, स्वदेशमा भएका, विदेशमा भएका साथीभाइ र आफन्तबाट सूचना आदान प्रदान भयो, सहानुभूति, सहायताका प्रतिबद्धताहरु आए । खुसी लाग्यो, ढडास मिल्यो । अफिसबाट फोन आयो, केही आर्थिक सहायता तत्काल उपलक्ध गराइयो । कमलसरप्रति आभारी रहे । सहृदयी कृष्णजीबाट सहयोग रकम लिइयो हर्षका आँसु खसे !

एनआईटिभी मिडियाका साथीहरु सहयोग भयो । जापानमा रहनुभएका कमल अधिकारी सर लगायत साथीहरुबाट ठूलो साथ र सहयोग प्राप्त भयो । यसबीचमा युगसम्वाद साप्ताहिकका प्रधान सम्पदाक सोमनाथ घिमिरे अनि नियमित स्तम्भकार तारानाथ सुवेदीबाट भएको सहायता, त्यसको केही समयपछि अमेरिका बस्ने मेरा दाजुसमान विकास चालिसेले गरेको आर्थिक सहायता मैले कुनै पुण्य गरेरै पाएको हुँ भन्ने लाग्छ । अप्ठ्यारो बेलामा गरेको सहयोग मानिसको जीवनमा सबभन्दा मूल्यवान हुन्छ भन्ने मलाई त्यतिबेला महसुस भयो । अमेरिका बस्ने छोरी बिन्दुको ढडास र आत्मविश्वासले पूर्ण देवतुल्य भनाईहरु अहिले पनि कानमा गुञ्जिइरहन्छन् । बासस्थान निर्माणका लागि उनले गरेको योगदानप्रति नतमस्तक छु । भरखरै अस्ट्रेलिया गएका भान्जा विक्रमको छटपटी र हामी सबै सकुसल रहेको थाहा पाएपछि उनले दिएको प्रतिक्रिया स्मरणीय छ ।

विस्तारै दिनहरु बित्दै गए, परिस्थिति सामान्य हुँदै गयो । घर भत्केर बेघर भएको म, त्रिपालमुनीबाट अरु आआफ्नो घर जाँदा अर्को अत्यास थपियो, अब के गर्ने ? घर डेरा खोज्ने क्रममा स्व. पीताम्बर खतिवडा दाइले “राम्रो त छैन, तैपनि यहाँ बस्नु भए हुन्छ” भन्नुभयो । ढुङ्गा खोज्दा देवता मिल्यो । सुरुका केही महिना भाडाको कुरा भएन, उहाँले भाडा नलिने बताउनुभयो । त्यसका लागि उहाँप्रति सदा आभारी रहनेछु । तर मैले “दाई यसरी हुँदैन, म यहाँबाट सर्ने भनेको आफ्नो घर बनेपछि मात्रै हो, म बुढा बा–आमा बोकेर कता चाहार्दै हिंड्ने ? त्यसकारण भाडा लिनुस्, अप्ठ्यारो नमानी बरु अरुको भन्दा सस्तो लिनुस् भनेपछि उहाँले मान्नुभयो । मलाई ढुक्क भयो । त्यो घरमा झण्डै २५ महिना बसियो, आफ्नो घर सम्पन्न नहुँदासम्म ।

भूकम्पले मेरो दिदीको पनि घर भत्कियो । दिदी दुई भाञ्जा र दिदीको नाती नजिकै बिमल खत्रीको घरमा बस्न पुगे । त्यसै क्रममा माइलो भाञ्जा विनयको प्रेमीका पनि आइपुगिन । भूकम्पको बेला अर्काको छोरी यसरी बस्न आउँदा नराम्रो मान्छन् भनेर उनीहरुको गुह्येश्वरीमा लगेर विवाह गराइदियौं । अहिले उनीहरुको एउटी छोरी समेत जन्मिसकेकी छन् । भूकम्पले मेरो माइलो भाञ्जाको घरजम भयो, त्यो खुसी र रोचक क्षण बन्यो ।

समयक्रमसंगै पत्रकार महासंघका पदाधिकारी लगायत साथीहरुको फोन आउन थाल्यो, सहायताका बाचाहरु गरिए । पत्रकारसंग सम्बन्धित तर राजनीतिक र जातीयतामा आधारित संघसंस्थाहरुले आआफ्नो पक्षका पीडित पत्रकारहरुलाई राहत, आर्थिक सहायता वितरण गरेका समाचाहरु हेर्दै गए, पढ्दै गए, आफूलाई पनि देलान् नि ! भन्ने आश र विश्वास अरु बढ्दै गयो । तर शून्य !! एकदिन महांघका तत्कालीन उच्च पदाधिकारीसंग भेट भएका बेला “के हामीलाई केही सहायता उपलब्ध गराउन महासंघले सक्दैन ?” पत्रकार भनेको राजनीतिक दलको भातृ संगठनमा लागेका मात्र हुन् कि कुनै पनि दलमा नलागेका पनि हुन् ?” भनेर प्रश्न गर्दा उनले देखाएको निरीहताले म हैरान भए ।

त्यसपछि मलाई लायो– एउटा दलको भातृसंगठनका रुपमा स्थापित पत्रकारहरुको संस्थाले आफ्नै दलमा आबद्धलाई मात्र सहयोग गर्ने, अर्कोले त्यस्तै, अनि अरुले पनि त्यस्तै । कुनै दलमा नलागेकालाई कसैले नहेर्ने र विपदको बेलामा त दलीय स्वार्थ र आबद्धता खोजिने देशमा सामान्य अवस्थामा स्वतन्त्र भएर अवसर पाइन्छ भनेर कल्पना गर्नु बेकार हो । यसको साटो स्वतन्त्र भएर शिर ठाडो पारेरै बसिन्छ भन्ने निष्कर्षमा पनि पुगें ।

कमसेकम पत्रकार भएको नाताले, सूचना विभागमा सूचीकृत भएको, पत्रकार महासंघको डेढ दशक पुरानो सदस्य भएकाले म जस्ता धेरैले महासंघबाट वा महासंघको पहलमा सहायता पाउनुपर्ने थियो, हुन त सहायता नपाए मरिएको छैन तर संस्थाप्रतिको विश्वास र भरोसाको विषय हो त्यो । कसैले दिएको केही सहयोगले जीवन चल्दैन तर आपतमा दिइएको सहयोग अमूल्य हुन्छ ।

भूकम्पको दुई हप्तापछि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले राहत वितरण गर्ने भयो, मलाई पनि खबर आयो । गएँ भृकुटीमण्डप सहायता लिन । तर त्यहाँ पुगेपछि जे देखियो त्यसले निकै निराश बन्न पुगे । एकथान त्रिपाल सहायताका नाममा पत्रकारहरुलाई, अनि त्यही लिन पनि हानथाप । मेरो नाम उद्घोषण गरियो, काठमाडौंका सिडिओले पाल वितरण गर्दै हुनुहुन्थ्यो । मैले पाल लिए अनि तत्कालै “सहायताका लागि धन्यवाद ! मेरो बासको बन्दोबस्त भैसकेको छ, यो पाल सिन्धुपाल्चोकको कुनै एक परिवारलाई मेरो तर्फबाट उपलब्ध गराइदिनुस्” भनेर सिडिओकै हातमा थमाइदिए ।

अहिले पनि ती क्षणहरु सम्झदा कहालिलाग्छ । राजधानीभित्रै पनि राहत, सहायताका नाममा पनि राजनीति हुने यो देशका दुर्गम गाउँहरुमा के भयो होला, राहत संकलन, सहायता वितरणका नाममा कति ब्रह्मलुट भयो होला, समाचारहरु त्यतिबेलै सार्वजनिक भएकै हुन्, तर सहायता पाउनैपर्नेले सुकोदाम पाएनन्, भूकम्प पीडितको घर ठडिन कैयौं वर्ष लाग्यो तर सहायता वितरण गर्ने, संकलन गर्नेहरुको घर एक वर्षमै ठडियो ।

यही हो मैले भुल्न चाहेको वैशाख १२ को सन्दर्भ । अनि मलाई सहानुभुति दिने, सहायता गर्ने मेरो कार्यालय, मेरा आदरणीय हाकिमसाबहरु, साथीहरु जसले मलाई अप्ठ्यारोमा अमूल्य गुण लगाउनुभयो, उहाँहरु मेरा लागि सदा स्तुत्य रहनुहुनेछ । सहायताका नाममा ब्रह्मलुट गर्नेहरु नरपिचाश हुन्, उनीहरु सदा दुत्कार्य हुनेछन् ।

अन्त्यमा, मान्छे चिन्ने दुःखमै हो । सुखमा साथदिने सयौं हुन्छन्, दुःखमा केही र त्यही केही मान्छेहरु नै जीवनभर काम लाग्छन् । कामलाग्ने मान्छे हुन रगतको साइनो, नातागोता हुनु पर्दैन, मन फराकिलो हुनुपर्छ । धनले सके धनले र मनले सके मनले साथ दिनेहरु नै मानिस हुन् र तिनीहरु नै आफन्त हुन् । मैले भोगेको यही हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More